३१ भदौ, काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आफू नेतृत्वको मन्त्रीमण्डल बढीमा ११ सदस्यीय हुने स्पष्ट पारेकी छिन्। बीबीसी नेपाली सेवासँगको कुराकानीमा कार्कीले मन्त्रीहरूको संख्या सीमित राख्ने र उनीहरू सबै गैरराजनीतिक पृष्ठभूमिका हुने बताएकी हुन्।
प्रधानमन्त्री कार्कीले भनिन्, “मन्त्रीहरू पनि कुनै राजनीतिक दल निकटका हुँदैनन्। गैरराजनीतिक, कुनै संस्थामा काम गरिसकेका, चुनाव नलड्ने व्यक्तिलाई मात्रै मन्त्री बनाउँछौँ।”
यसअघि नै कार्की नेतृत्वको मन्त्रिपरिषद्मा तीन जना मन्त्री नियुक्त भइसकेका छन्। अर्थमन्त्रीको जिम्मेवारी पूर्वसचिव रामेश्वर खनाललाई, गृहमन्त्रीको जिम्मेवारी पूर्वआईजीपी ओमप्रकाश अर्याललाई र ऊर्जा, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रीको जिम्मेवारी पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई दिइएको छ।
प्रधानमन्त्री कार्कीले बाँकी मन्त्रीहरूको चयन प्रक्रिया तीव्र गतिमा अगाडि बढिरहेको जनाएकी छन्। उनले समावेशी, सक्षम र निष्पक्ष व्यक्तित्वहरूलाई सरकारमा ल्याउने प्रयास भइरहेको बताइन्।
यो अन्तरिम सरकार आगामी निर्वाचनसम्म मात्र क्रियाशील रहनेछ भने यसको प्राथमिकता निष्पक्षता, पारदर्शिता र नागरिक विश्वास हासिल गर्नु हुने बताइएको छ।















