३१ भदौ,वीरगञ्ज । जेनजी आन्दोलनका क्रममा अराजक समूहले तोडफोड र आगजनी गरी ध्वस्त पारेको वीरगञ्ज महानगरपालिका–१० स्थित आदर्शनगर वडा कार्यालय फेरि सञ्चालनमा आएको छ।
गत मंगलबार भएको घटनापछि सेवा ठप्प भएको वडा कार्यालय मंगलबारदेखि पुनः सञ्चालनमा ल्याइएको हो। आइतबार र सोमबार वडाध्यक्ष सुशील साह कानु, कर्मचारी र स्थानीय युवाहरूको सक्रियतामा सरसफाइ तथा मर्मतको काम पूरा गरिएपछि मंगलबारदेखि सेवा प्रवाह सुरु गरिएको हो।
वडाध्यक्ष कानुले कार्यालय पुनः सञ्चालनका लागि आवश्यक पर्ने फर्निचर, कम्प्युटर, ल्यापटप, प्रिन्टरलगायतका सामग्रीहरू आफ्नो व्यक्तिगत खर्चमा उपलब्ध गराएको जानकारी दिए। उनका अनुसार, “कार्यालय सञ्चालनका लागि कम्तीमा १५ लाख रुपैयाँभन्दा बढी खर्च लाग्छ, अहिले मेरो घरमै रहेका सामग्री प्रयोग गरेर सेवा सुरु गरेका छौँ।”
आगोले जलेर पूर्ण रूपमा ध्वस्त भएको दोस्रो तल्लाको कार्यालय प्रयोग गर्न नसकिने भएकाले कार्यालय भवनको भुइँतल्लाको बरन्डामा अस्थायी रूपमा सेवा सुरु गरिएको हो।
वडाध्यक्ष कानुका अनुसार आगजनी र तोडफोडबाट करिब ७० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। कार्यालयका दुई कोठा र हल पूर्णरूपमा नष्ट भएका छन्। साथै, ४ थान कम्प्युटर, २ थान ल्यापटप, ३ थान एसी, २ थान प्रिन्टर, टेबल, कुर्सी, सोफा, दराजलगायत सबै फर्निचर जलेर खरानी भएका थिए।
महानगरपालिकाले मंगलबार बसेको नगर परिषद् बैठकमा आवश्यक उपकरण र सामग्री केही दिनभित्र उपलब्ध गराउने प्रतिबद्धता जनाएको वडाध्यक्ष कानुले बताए।
अराजक घटनाबाट प्रभावित कार्यालय पुनः सञ्चालनमा ल्याउन वडाध्यक्षको निजी पहलले सेवा लिन आउने स्थानीय बासिन्दालाई राहत मिलेको छ।















