३१ भदौ, काठमाडौं । नेपालमा हालैको जेन(जी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटले सुनचाँदी व्यवसायमा पनि सुरक्षाको गम्भीर चुनौती थपेको छ।
यसैलाई मध्यनजर गर्दै नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घले आफ्ना सदस्य तथा व्यवसायीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।महासङ्घले जारी गरेको सूचनाअनुसार, आन्दोलनको दौरानमा चोरी वा लुटपाट भएका गरगहनाहरू बजारमा आउन सक्ने सम्भावना उच्च भएकाले कुनै पनि कारोबार गर्नुअघि ग्राहकको प्रमाणित परिचयपत्र र आवश्यक कागजात अनिवार्य रूपमा जाँच गर्न भनिएको छ।
सुरक्षाका उपायहरू
महासङ्घका महासचिव निर बहादुर विश्वकर्मा (विमल)ले पसलहरूमा सुरक्षा व्यवस्था बढाउन सुझाव दिएका छन् । उनले सीसीटीभी, अर्लाम वा अन्य उपकरणहरू जडान गर्न, अपरिचित व्यक्तिलाई सहजै प्रवेश नदिन र कुनै पनि शंकास्पद गतिविधि देखिएमा तत्काल प्रहरीलाई खबर गर्न आग्रह गरेका छन् ।
साथै, आगामी चाडपर्वहरू नजिकिँदै गर्दा व्यवसायलाई सुरक्षित राख्न स्थानीय प्रहरी र सरकारसँग निरन्तर समन्वयमा रहन पनि महासङ्घले सम्पूर्ण व्यवसायीलाई आह्वान गरेको छ। यस घटनाले व्यापारिक क्षेत्रमा पनि सुरक्षाको नयाँ बहस सुरु भएको छ।















