Logo

२ असोज, काठमाडौं । नेपालको अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज फोन वार्ता हुने तयारी गरिएको छ। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार, बिहान ११:३० बजे दुई देशका प्रधानमन्त्रीहरूबीच संवाद हुने समय तय गरिएको हो।

यसअघि मंगलबार नै फोन वार्ता गर्ने तयारी भएको थियो, तर अन्तिम समयमा केही कारणवश संवाद स्थगित गरिएको थियो। आजको कुराकानीले दुई देशबीचको सम्बन्धमा नयाँ सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ।

गत भदौ २३ र २४ गते जेनजी युवाहरूको सशक्त आन्दोलनपछि केपी शर्मा ओली नेतृत्वको सरकार पदच्युत भएको थियो। त्यसपछिको राजनीतिक समिकरण अनुसार वरिष्ठ न्यायाधीश रहिसकेकी सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीको जिम्मेवारी दिइएको हो। उनी नेपालको इतिहासमै पहिलो महिला प्रधानमन्त्री बनेकी छिन्।

प्रधानमन्त्री कार्कीको नियुक्तिपछि भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत उनलाई बधाई दिँदै नेपालको राजनीतिक परिवर्तनप्रति सकारात्मक धारणा व्यक्त गरेका थिए। उनले गत शनिबार मणिपुरमा आयोजित कार्यक्रममा नेपालमा महिला नेतृत्वको उदय भएको उल्लेख गर्दै यसलाई दक्षिण एशियाली महिला सशक्तीकरणको प्रेरणादायक उदाहरण भनेका थिए।

आजको फोन संवादमा आपसी सम्बन्ध, सीमापार व्यापार, क्षेत्रीय स्थायित्व, र महिला नेतृत्वको भूमिकालगायत विषयमा छलफल हुने अनुमान गरिएको छ।

नेपाल–भारत सम्बन्धको वर्तमान संवेदनशील परिस्थितिमा प्रधानमन्त्री कार्की र प्रधानमन्त्री मोदीबीचको संवादले कूटनीतिक र राजनीतिक दृष्टिकोणले गहिरो अर्थ राख्ने देखिन्छ।


सम्बन्धित समाचार