२ असोज, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आज प्रहरी प्रधान कार्यालय पुगेर जेनजी आन्दोलनका क्रममा भएका क्षतिको बारेमा जानकारी लिएका छन्। भ्रमणका क्रममा उनले प्रहरी इकाइहरूको पुनःस्थापना, कर्मचारीको मनोबल, र समुदायको सहयोगबारे गहिरो चासो व्यक्त गरेका छन्।
गृहमन्त्री अर्यालले प्रहरीलाई राष्ट्र र जनताको हितमा उच्च मनोबलका साथ समर्पित भएर कार्य गर्न निर्देशन दिए। “आन्दोलनका क्रममा क्षतिग्रस्त प्रहरी इकाइको पुनःस्थापना र प्रहरी कर्मचारीको मनोबल उच्च राख्नका लागि समुदायले देखाएको सदायता महत्वपूर्ण छ,” उनले भने, “तपाईंहरू उच्च मनोबलका साथ जनताको हितमा काम गर्नुस्।”
गृहमन्त्री अर्यालले नेपाल प्रहरीको कार्यसम्पादनमा रहेका कमजोरीहरू सुधार गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै, कानुनको सीमाभित्र रही कर्तव्यनिष्ठ र संयमित ढंगले काम गर्न निर्देशन दिए। उनले विश्वास व्यक्त गर्दै भने, “वर्तमान सरकार उच्च मनोबलयुक्त प्रहरी सेवाको पक्षमा छ।”
यसअघि गृहमन्त्री अर्यालले काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी, प्रहरी वृत्त दरबारमार्ग र प्रहरी वृत्त महाराजगञ्जको स्थलगत अनुगमन गरेका थिए। ती स्थानहरू जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएका थिए।
कार्यक्रममा नेपाल प्रहरीका सातै प्रदेशका प्रमुख, जिल्ला प्रहरी कार्यालयका प्रमुख, इलाका प्रहरी प्रमुखलगायत उच्च प्रहरी अधिकारीहरू भर्चुअल माध्यमबाट सहभागी थिए। गृहमन्त्रीको सम्बोधनपछि प्रहरी नेतृत्वले आन्दोलनपछिको अवस्था, सुरक्षाको चुनौती, र भावी रणनीतिबारे जानकारी गराएका थिए।

















