Logo

२६ फागुन,वीरगञ्ज । किसानको खेतमा उखु सकिएपछि दुई महिना अगावै रौतहटको कटहरिया–९ डुमरियास्थित बाबा बैजुनाथ सुगर एन्ड केमिकल उद्योग बन्द भएको छ । चैत अन्तिमसम्म क्रसिङ गर्नुपर्ने सुगर मिल उखु अभावले बन्द भएको हो । मिलले यस वर्ष पनि क्रसिङको लक्ष्य पूरा गर्न सकेन ।

उखु अभाव बढेको र यसको रस मा पनि चिनीको मात्रा कम हुँदै गएको भन्दै मिल प्रशासनले आइतबारबाट बन्दको सूचना टाँसेको हो । एक सिजनमा २० देखि २५ लाख क्विन्टलसम्म उखु क्रसिङ गर्ने लक्ष्य लिएको मिलले यस वर्ष १० लाख क्विन्टल पनि पु¥याउन सकेन ।

यही कारण मिलले ठूलो आर्थिक नोक्सानी बेहोर्नुपरेको मिल सञ्चालक बैजु बाबराले बताउनुभयो । जिल्लाका किसानले उखु खेती बढाउन नसकेको र उखु अभावकै कारण दुई महिनाअघि नै बाध्य भई मिल बन्द गर्नुपरेको बाबराले बताउनुयो । डेढ दशकअघिसम्म जिल्लाका किसानले २० लाखभन्दा बढी क्विन्टलसम्म उखु खेती गरेका थिए । जिल्लाको गरुडास्थित श्रीराम सुगर मिल बन्द भएपछि किसानले उखु खेती गर्न छाडेका हुन् ।

केहीले बाहिरी जिल्लाका मिल र स्थानीय खाडसारीलाई उखु दिन थालेपछि मिललाई अभाव भएको हो । विगतमा भुक्तानी र मिलले दिने चलान पुर्जीकै कारण किसानले धेरै दुःख पाएको उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोक यादवले बताउनुभयो । उखु अभावले प्रत्येक सिजनमा सुगर मिलले करोडौं रुपैयाँ घाटा बेहोर्नुपरेको सञ्चालक बाबराको भनाइ छ ।


सम्बन्धित समाचार