Logo

नेकपा एमालेका युवा नेता सुहाङ नेम्वाङको प्रेस नोटले एक भिन्न र आत्म–समीक्षात्मक आवाज प्रस्तुत गरेको छ।

हालैको जेनजी आन्दोलनपछि सिर्जित असहज र उथलपुथलकारी अवस्थामा, नेम्वाङले आवेग, उत्तेजना र प्रतिशोधको राजनीति त्यागेर सबैलाई संयम अपनाउन आग्रह गरेका छन् ।

नेतृत्वको आत्म–स्वीकारोक्ति र जेनजीप्रतिको सम्मान

नेम्वाङले ‘जेनजी’ आन्दोलनलाई केवल एक विद्रोहको रूपमा नहेरेर, त्यसलाई आफ्नै सन्तानको अस्तित्व र अधिकारको लडाईँको रूपमा स्वीकार गरेका छन् । उनले जेनजीहरूलाई उत्तेजनापूर्ण आरोप लगाउने प्रवृत्तिलाई आफ्नै सन्ततीहरूलाई गाली गर्नुु भन्दै त्यस्तो गर्नेहरू जिम्मेवार अभिभावक बन्न नसक्ने बताएका छन्। यस भनाइले युवा पुस्ताको भावनालाई सम्मान गर्नुपर्ने र उनीहरूका मागलाई गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिएको छ। नेम्वाङले आफू पनि विगतमा नेतृत्वमा बसेकाले यो अवस्था निर्माण हुनुमा आफ्नो पनि केही भूमिका रहेको स्वीकार गर्दै ुकमजोरी र नालायकीुप्रति माफी समेत मागेका छन् । उनको यो आत्म–समीक्षा र स्वीकारोक्तिले वर्तमान राजनीतिक नेतृत्वले गर्नुपर्ने नैतिक जिम्मेवारी र जवाफदेहिताको आवश्यकतालाई उजागर गरेको छ।

विनाश र आशाको द्वन्द्व

नेम्वाङको प्रेस नोटले भदौ २३ गतेको जेनजी आन्दोलन र भदौ २४ गते भएको तोडफोड तथा आगजनीको घटनाबाट उत्पन्न पीडा र संशयलाई स्पष्ट पारेको छ। उनले आन्दोलनमा घुसपैठ गर्नेहरूमाथि कारबाही हुनुपर्नेमा जोड दिएका छन्, तर यसको साथै, जेनजीहरूले उठाएका भ्रष्टाचारविरुद्धका प्रश्नहरू गलत थिएनन् भन्ने कुरामा पनि उनी दृढ छन्।

उनले इतिहासबाट समीक्षा नगरी अगाडि बढ्दा भविष्य पनि पीडादायी हुनेु बताउँदै खरानीबाट उठ्नुपर्ने तर त्यसका लागि कमजोरीहरूको स्वीकारोक्ति आवश्यक रहेकोमा जोड दिएका छन्। नेम्वाङको यो दृष्टिकोणले नेपाली राजनीतिमा केवल आरोप–प्रत्यारोपभन्दा माथि उठेर समस्याको जडलाई सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याउँछ।

अन्तमा, उनले अन्तरिम सरकारलाई पनि विगतका गल्तीहरू नदोहोऱ्याउन र सबैलाई सँगै लिएर तोकिएको समयमा निर्वाचन सम्पन्न गर्न अनुरोध गरेका छन्। नेम्वाङको यो वक्तव्यले राजनीतिक वृत्तमा देखिएको निराशाजनक अवस्थामा आशाको किरण देखाएको छ, जहाँ युवा पुस्ताले परिवर्तनको नेतृत्व गर्न सक्ने सम्भावना रहेको छ।


सम्बन्धित समाचार
भर्खरै