Logo

१० असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्ने भएको छ। बिहीबारदेखि सुरु भएको बैठकमा पहिलो दिन पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी पुनर्गठन र नयाँ नेतृत्व चयनका लागि आगामी मङ्सिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव राखेका थिए।

अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको प्रस्तावमा पार्टीको संरचनागत पुनर्संयोजन, नीतिगत स्पष्टता र नेतृत्व चयनलाई प्रमुख एजेन्डाका रूपमा अघि सारिएको छ। तर, सो प्रस्तावमा शीर्ष नेताहरूबीच फरक धारणा सार्वजनिक भएका छन् ।

पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माले अध्यक्ष प्रचण्डको प्रस्तावप्रति असहमति जनाउँदै आफ्ना वैकल्पिक धारणा राखिसकेका छन्। उनीहरूले पार्टीभित्र आवश्यक पर्ने छलफल र समन्वयबिना महाधिवेशनको प्रस्ताव अघि सारिएको भन्दै आपत्ति जनाएको पार्टी स्रोतले जानकारी दिएको छ।

बैठकमा विभिन्न १० वटा समूह बनाएर बिहीबारदेखि नै विस्तृत छलफल भइरहेको माओवादी केन्द्रले जनाएको छ। समूहगत छलफलमा प्रतिनिधिहरूले पार्टीको वर्तमान अवस्था, संगठनात्मक कमजोरी, भविष्यको दिशा–निर्देशन र महाधिवेशनको आवश्यकता–अनावश्यकता विषयमा धारणा राखिरहेका छन्।

पार्टीका अनुसार, आजको बैठकमा समूहगत छलफलको प्रतिवेदन प्रस्तुत हुने र टोली नेताहरूले आफ्नो धारणा राख्ने कार्यक्रम रहेको छ। यसपछि अध्यक्ष प्रचण्डले नेताहरूको सुझावका आधारमा आफ्नो प्रस्तावलाई थप परिमार्जन गर्ने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार