Logo

१० असोज , काठमाडौं । गृह मन्त्रालयले काठमाडौंलगायत देशका विभिन्न भागमा हालै भएको प्रदर्शनका क्रममा हराएका हातहतियार र खरखजाना फेला परेमा असोज मसान्तसम्म नजिकको सुरक्षा निकायमा बुझाउन सार्वजनिक अनुरोध गरेको छ।

मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै भदौ २३ र २४ गते भएका प्रदर्शनका क्रममा सुरक्षा निकायको साथबाट हराएका हातहतियार कसैको साथमा फेला परेमा तुरुन्तै बुझाउन वा जानकारी दिन आग्रह गरेको हो।

विज्ञप्तिमा भनिएको छ, “जो–कोही व्यक्तिले ती हातहतियार वा खरखजाना फेला पारी असोज मसान्तभित्र बुझाएमा अथवा त्यसबारे सुरक्षानिकायलाई जानकारी गराएमा उनलाई उचित सम्मान गरिनेछ।”

तर सो मिति पश्चात कसैको साथमा ती हराएका हातहतियार फेला परेमा सम्बन्धित व्यक्तिलाई प्रचलित कानुनअनुसार कडाभन्दा कडा कारबाही गरिने मन्त्रालयले चेतावनी दिएको छ।

गृह मन्त्रालयको यस प्रकारको आग्रह हालैको राजनीतिक अशान्ति र विरोध प्रदर्शनसँग सम्बन्धित घटनाहरूको सन्दर्भमा आएको हो, जसमा कतिपय स्थानमा सुरक्षाकर्मीहरूबाट हतियार हराएको भन्ने प्रारम्भिक रिपोर्टहरू आएका थिए।

मन्त्रालयले नागरिकहरूलाई शंका लाग्दो वस्तु वा हातहतियार देखेमा तत्काल नजिकको प्रहरी, सशस्त्र प्रहरी वा अन्य सुरक्षासम्बन्धी निकायमा खबर गर्न पनि अनुरोध गरेको छ। यसले सम्भावित जोखिमलाई न्यून गर्न र शान्ति-सुरक्षालाई बलियो बनाउन सहयोग पुग्ने मन्त्रालयको भनाइ छ।


सम्बन्धित समाचार