१० असोज, काठमाडौँ । नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठकमा पार्टीका तीन शीर्ष नेता पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ र जनार्दन शर्माको प्रस्तावभन्दा फरक चौथो विकल्प आएको छ।
पार्टीका सचिव राम कार्कीले प्रस्तुत तीनवटै प्रतिवेदनको विपक्षमा उभिएर प्रदेश अध्यक्षको नेतृत्वमा महाधिवेशन संयोजन समिति बनाउने अनौपचारिक प्रस्ताव राखेका छन् । केन्द्रीय समिति बैठकमा बोल्दै कार्कीले समग्र कमिटीहरू भङ्ग गरी नयाँ मोडालिटीमा जानुपर्ने बताए । ‘प्रदेश अध्यक्ष राखौं र संयोजन समिति बनाएर महाधिवेशनमा जाऔँ। बाँकी सबै कमिटीहरू भङ्ग गरौँ,’ कार्कीको स्पष्ट प्रस्ताव रहेको छ।
यो प्रस्तावले अध्यक्ष प्रचण्डको केन्द्रीय समिति भंग गरी आयोजक समिति बनाउने, वरिष्ठ उपाध्यक्ष श्रेष्ठको चुनावपछि महाधिवेशन गर्ने र उपमहासचिव शर्माको नयाँ टिम ल्याउने प्रस्तावभन्दा भिन्नै बाटो सुझाएको छ।
प्रचण्डको प्रस्तावमा बलियो समर्थन
कार्कीले फरक मत राखे पनि बैठकमा भने अध्यक्ष प्रचण्डको विशेष महाधिवेशनको प्रस्तावमा बलियो समर्थन देखिएको छ। हालसम्म लुम्बिनी प्रदेश, मधेश प्रदेश, उपत्यका विशेष प्रदेशले प्रचण्डको नेतृत्वमा महाधिवेशनमा जाने निष्कर्ष निकालेका छन् । अहिलेसम्म धारणा राखेका पदाधिकारीहरू हरिबोल गजुरेल, अग्नि सापकोटा र मातृका यादवले पनि प्रचण्डको प्रतिवेदनको समर्थन गरेका छन् ।
अधिकांश समूहको निष्कर्ष मंसिरमै महाधिवेशन गर्ने र त्यसको नेतृत्व प्रचण्डले नै गर्नुपर्ने दिशामा केन्द्रित देखिएको छ। सबै समूहगत छलफलहरू सकिएपछि अध्यक्ष प्रचण्डले जवाफ दिएर बैठक समापन हुने तयारी छ।















