Logo

१० असोज, काठमाडौँ। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबाट उत्पन्न राजनीतिक संकटले नेकपा एमालेभित्र आत्मालोचनासहित पार्टी नेतृत्व पुनर्गठनको चर्को आवाज उठाएको छ ।

तर, तत्कालीन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली भने पार्टीभित्रबाट उठेका यी आवाजहरूलाई सम्बोधन गर्न तयार देखिएका छैनन् ।जनआक्रोशपछि प्रधानमन्त्री पदबाट राजीनामा दिन बाध्य भएका ओलीले आफ्नो कमजोरी स्विकार्नुको सट्टा आन्दोलनमा ‘घुसपैठ’ भएको एकोहोरो रटान लगाउँदै घटनाको जिम्मेवारीबाट पन्छिन खोजेको असन्तुष्ट नेताहरूको भनाइ छ ।

ओली किन बोलाउँदैनन् औपचारिक बैठक ?

युवाहरूको आन्दोलन र सत्ता परिवर्तन भएको तीन साता पुग्न लाग्दा पनि अध्यक्ष ओलीले पार्टीको औपचारिक बैठक समेत बोलाएका छैनन् । असन्तुष्ट पक्षका नेताहरूका अनुसार ओलीले बैठक बोलाउँदा बहुमत सदस्यहरू आफ्नो विपक्षमा उभिने डरले बैठक टार्न खोजेका छन् । पार्टी पुनर्गठनको आवाज एमालेभित्र पनि चर्को रूपमा उठेको बताउँदै एक पदाधिकारीले भने, ‘अध्यक्षले पार्टी पुनर्गठनको मागलाई बेवास्ता गरिरहनुभएको छ, यसले पार्टीमै पनि थप क्षति हुने खतरा छ।’

‘म माथि नै किन प्रहार? ओलीमा पश्चात्तापको अभाव

आन्दोलनकारीले निजी निवास बालकोटमा समेत आगजनी गरेपछि हाल भक्तपुरको गुण्डुमा डेरा सरेका ओलीले नजिकका नेता–कार्यकर्तासँगको भेटघाटमा आफूमाथि नै प्रहार केन्द्रित गरिएको गुनासो गर्दै आएका छन् । आन्दोलनकारी जेनजी पुस्ताले तत्कालीन प्रधानमन्त्री ओली, गृहमन्त्री लगायतलाई कारबाहीको माग गरिरहेका बेला, ओलीले भने आफ्नो तर्फबाट भएको गल्ती वा कमजोरीबारे अहिलेसम्म मुख खोलेका छैनन्।

पश्चात्तापको अभाव

ओलीलाई भेटेर आएका एक कार्यकर्ता भन्छन्, ‘उहाँमा जानअन्जानमा मेरो कमजोरी भयो भन्ने कुनै पश्चात्ताप देखिँदैन। बरु म विकास र समृद्धिको वाहक हुँ र राम्रो काम गर्दा मलाई नै निशाना बनाइयो भन्ने तर्कमात्र गरिरहनुहुन्छ।’ ओलीले भेट्न आउने पत्रकारहरूसँग समेत पार्टी पुनर्गठनको अपिल गरेका सचिव योगेश भट्टराईको पोस्टलाई ‘हेरौँला न’ भन्दै बेवास्ता गरेका थिए ।

पुनर्गठनको मागमा पदाधिकारी नै विभाजित

पछिल्लो राजनीतिक घटनाक्रमपछि एमालेभित्र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली र सुरेन्द्र पाण्डे, सचिवद्वय योगेश भट्टराई र गोकर्ण विष्ट लगायतका नेताहरू पार्टी पुनर्गठनको पक्षमा खुलेर लागेका छन् । उपाध्यक्ष विष्णु पौडेल, सचिव योगेश भट्टराई र गोकर्ण विष्टले त व्यक्तिगत रूपमा वक्तव्य जारी गरी विगतका निर्णयप्रति क्षमा याचना गर्दै नयाँ पुस्ताको भावनाबमोजिम पार्टीको सङ्गठन, कार्यशैली र आचरणमा परिवर्तन गरी पुनर्गठन अनिवार्य भएको बताएका छन् ।

तर, ओली भने सडकमा उठेको आवाजले नेतृत्व परिवर्तन वा पार्टी पुनर्गठन नहुने अडानमा कायम छन् । उनले हाल पदाधिकारी तहका नेताहरूसँग ‘वान टु वान’ छलफल गरी उनीहरूको मनस्थिति बुझ्ने काममा आफूलाई व्यस्त राखेका छन् ।


सम्बन्धित समाचार
भर्खरै