Logo

१० असोज,वीरगञ्ज । पर्साको छिपहरमाई गाउँपालिका–५ भिस्वामा बिहीबार बेलुकी भएको गोली प्रहार घटनामा संलग्न भएको आशंकामा प्रहरीले तीन जना किशोरहरूलाई नियन्त्रणमा लिएको छ। घटनामा १६ वर्षीय गोलु आलम घाइते भएका छन्।

प्रहरीका अनुसार गाउँपालिका कार्यालय पछाडिको सडकमा अपरिचित समूहले गोली चलाउँदा भिस्वाकै गोलु आलमको बायाँ तिघ्रामा गोली लागेको हो। उनलाई तत्कालै नारायणी अस्पताल, वीरगन्जमा भर्ना गरिएको छ र उपचार जारी छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी सुदिपराज पाठकले दिएको जानकारी अनुसार, घटना लगत्तै तीन किशोरलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको छ। “नियन्त्रणमा लिइएकाहरू सबै टिनएजर्स हुन्। उनीहरूको गाउँमा चालचलन र आचरण राम्रो नभएको बताइएको छ,” पाठकले भने।

घटना कसरी भयो?

घाइते आलमले प्रहरीलाई दिएको प्रारम्भिक बयानअनुसार, उनी साँझ घर फर्कँदै गर्दा बाटोमा केही युवाबीच विवाद भइरहेको थियो। त्यही बेला अचानक गोली चलेको र आफू घाइते भएको उनले बताएका छन्। उनले गोली कसले चलाएको देख्न नपाएको बताएका छन्।

छेडखानीको विवादले उक्साएको घटना?

घटनाको पृष्ठभूमिमा स्थानीयबीचको पुरानो विवाद रहेको बताइएको छ। भिस्वा बजारबाट झलमहियातर्फ फर्किने किशोरी तथा युवतीहरूलाई जिस्क्याउने र छेडखानी गर्ने विषयमा दुई गाउँका युवाबीच पछिल्लो समय तनाव बढेको थियो। बिहीबार बेलुकी सोही विवाद चरममा पुगेर गोली हानिएको स्थानीयले बताएका छन्।

प्रहरीले घटनाबारे विस्तृत अनुसन्धान जारी राखेको जनाएको छ। गोली कसले चलायो र त्यसको उद्देश्य के थियो भन्ने विषयमा अझै पुष्टि भइसकेको छैन।


सम्बन्धित समाचार
भर्खरै