२९ असोज, काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहा लहानको सडक डिभिजन कार्यालयका तत्कालीन डिभिजनल इन्जिनियर रवीन्द्रलाल दाससहित चार जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको छ।
मुद्दामा रवीन्द्रलाल दाससँगै तत्कालीन इन्जिनियर शैलेन्द्रकुमार चौधरी, सब-इन्जिनियर चन्द्रकान्त चौधरी र रब्बानी कन्सट्रक्सनका प्रोपाइटर जफिर कवारीलाई पनि आरोपी बनाइएको छ। अख्तियारले उनीहरूबाट २ करोड ३४ लाख ९९ हजार ९४५ रुपैयाँ बिगो माग गरेको छ।
सिरहाको कल्याणपुर नगरपालिका-५ मा प्रदेश सरकारले सञ्चालन गरेको सडक निर्माण योजनाअन्तर्गत ३ करोड बराबरको गुणस्तरहीन सामग्री प्रयोग गरी सडक ढलान गरिएको उजुरीका आधारमा आयोगले अनुसन्धान गरेको थियो। सो योजनामा जय धनन्जय/रब्बानी जेभी बालाजुले ३ करोड ४९ लाख ६१ हजार ६३८ रुपैयाँमा ३० चैत २०७७ मा काम सम्पन्न गर्ने गरी ठेक्का पाएको थियो।
अख्तियारले भने अनुसार सम्झौता विपरीत कम गुणस्तरको सामग्री प्रयोग गरी भुक्तानी लिइएको पाईएपछि मुद्दा दायर गरिएको हो।
यो घटनाले सरकारी योजना तथा सार्वजनिक स्रोतको दुरुपयोगको मुद्दा पुनः एकपटक उजागर गरेको छ।















