७ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) चितवन आइपुगेका छन् ।
विशेष विमानमार्फत भरतपुर विमानस्थलमा अवतरण गरेका प्रधानमन्त्री शाहले यस पटकको यात्रामा आफ्नी छोरीलाई समेत साथमा लिएका छन् । विमानस्थलमा उत्रिएलगत्तै उनी सिधै महाधिवेशन स्थलतर्फ प्रस्थान गरेका छन् ।
आज दिउँसो २ बजे तय गरिएको महाधिवेशनको औपचारिक उद्घाटन सत्रलाई भव्य बनाउने तयारी रास्वपाले गरेको छ । पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता शाहले संयुक्त रूपमा महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
उद्घाटन अघि प्रधानमन्त्री शाहको चितवन आगमनलाई रास्वपाको महाधिवेशनको मुख्य आकर्षणका रूपमा हेरिएको छ। पार्टीको महत्त्वपूर्ण यो क्षणमा प्रधानमन्त्री शाहको पारिवारिक उपस्थितिले कार्यक्रममा थप चर्चा बटुलेको छ ।
















