७ असार , काठमाडौँ । मध्यपूर्वमा फेरि एकपटक तनावको कालो बादल मडारिएको छ ।
इजरायलले लेबनानमा गरेको सैन्य कारबाहीलाई लिएर इरानले विश्वकै सबैभन्दा संवेदनशील मानिने ‘स्ट्रेट अफ होर्मुज’ जलमार्गमाथि अनपेक्षित नाकाबन्दी गरेको छ । अमेरिका र इरानबीच भर्खरै सम्पन्न शान्ति सम्झौताको मसी नसुक्दै इरानले होर्मुज बन्द गरेपछि अन्तर्राष्ट्रिय राजनीति र ऊर्जा आपूर्तिमा गम्भीर प्रश्नचिह्न खडा भएको छ ।
इरानका सर्वोच्च नेताका सल्लाहकार मोहम्मद मोख्बरले इजरायलको लेबनानमा जारी आक्रमण र अमेरिकाले युद्धविराम प्रतिबद्धता पालना नगरेको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनले १४ बुँदे अन्तरिम सम्झौताको पहिलो धारा नै कार्यान्वयन नभएको आरोप लगाउँदै जबसम्म सम्झौता पूर्णतः लागू हुँदैन, तबसम्म ऊर्जा आपूर्ति अवरुद्ध रहने चेतावनी दिएका छन् ।
यस अवस्थालाई मध्यनजर गर्दै इजरायली कोर अफ ग्यारेन्टरले होर्मुज हुँदै आवतजावत गर्ने जहाजहरूलाई उच्च जोखिमको चेतावनी दिँदै आफ्नै जिम्मेवारीमा मात्र अघि बढ्न सचेत गराएको छ ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज विवादलाई आर्थिक रूपमा सम्बोधन गर्ने संकेत गरेका छन्। ट्रम्पले शान्ति सम्झौता सफल नभए भविष्यमा होर्मुज भएर गुड्ने जहाजहरूमा ‘टोल कर’ लगाउने प्रस्ताव राखेका छन् । उनले भनेका छन्, ‘६० दिने युद्धविराम अवधिमा कुनै कर लाग्ने छैन, तर सम्झौता तोडिएमा मध्यपूर्वी देशहरूको क्षतिको पूर्ति गर्न अमेरिकाले कर लगाउनेछ ।’ यद्यपि, इरानले बन्द गरेको जलमार्ग खोल्नेबारे ट्रम्पले स्पष्ट कदम चालेका छैनन् । तनावका बाबजुद शनिबारसम्म ५५ वटा व्यापारिक जहाजले १ करोड ७० लाख ब्यारेल तेल बोकेर सो जलमार्ग पार गरेको अमेरिकी केन्द्रीय कमान्डको दाबी छ ।
यो नाकाबन्दीले विश्वव्यापी ऊर्जा सुरक्षामा गम्भीर असर पर्ने देखिएको छ । तेल र ग्यास निर्यातको प्रमुख लाइफलाइन मानिने होर्मुज बन्द हुँदा सोमबार विश्व बजारमा कच्चा तेलको मूल्यमा भारी वृद्धि हुने आँकलन गरिएको छ । लेबनानी युद्धविरामको दिगोपनमा शंका र इरानअमेरिकाबीचको पछिल्लो तिक्तताले ऊर्जा संकटलाई झन् विकराल बनाउने निश्चित जस्तै देखिएको छ ।
















