Logo

७ असार, काठमाडौं । फिफा विश्वकपको ऐतिहासिक १,०००औं खेलमा एसियाली पावरहाउस जापानले अफ्रिकन टोली ट्युनिसियामाथि ४–० को एकपक्षीय जित निकाल्दै आफ्नो लय पुष्टि गरेको छ ।

मेक्सिकोको मोन्टेरेमा भएको खेलमा जापानले सुरुदेखि नै बलमा नियन्त्रण जमाउँदै ट्युनिसियामाथि दबाब कायम राख्यो । जापानको जितमा असाय उएदाले दुई तथा दाइची कामाडा र जुन्या इटोले एक–एक गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।

यो नतिजासँगै समूह ‘एफ’ मा जापानले ४ अंक जोड्दै नकआउट चरणको यात्रालाई थप बलियो बनाएको छ । नेदरल्यान्ड्ससँग बराबरी खेलेको जापान यस जितपछि समूहको शीर्ष स्थानतर्फ अग्रसर भएको छ। उता, लगातार दोस्रो हार बेहोरेको ट्युनिसिया भने प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ । यसअघि पहिलो खेलमा स्वीडेनसँग ५–१ को फराकिलो हार व्यहोरेको ट्युनिसियाका लागि यो विश्वकप निराशाजनक रह्यो ।

सन् २००२ को विश्वकपमा जापानले ट्युनिसियालाई २–० ले हराएको इतिहास दोहोर्‍याउँदै यसपटक थप उत्कृष्ट प्रदर्शन गरेको छ । विश्वकपको १,०००औं खेलको विशेष अवसरमा जापानले देखाएको यो शानदार खेलले एसियाली फुटबलको बढ्दो स्तरलाई पुनः एकपटक प्रमाणित गरेको छ ।


सम्बन्धित समाचार