Logo

७ असार, काठमाडौं । विश्व राजनीतिमा तनावको केन्द्र बनेका अमेरिका र इरानबीच आज स्विट्जरल्यान्डमा प्रत्यक्ष वार्ता सुरु हुँदैछ ।

यस ऐतिहासिक वार्तालाई सफल बनाउन र तनाव मत्थर पार्न उच्चस्तरीय कूटनीतिक पहल सुरु भएको छ । अमेरिकी राष्ट्रपतिको तर्फबाट दूत स्टिभ विटकफ र जारेड कुनर स्विट्जरल्यान्ड पुगिसकेका छन् भने उपराष्ट्रपति जेडी भान्स पनि केही बेरमा त्यहाँ पुग्ने कार्यक्रम छ ।

वार्तामा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्न पाकिस्तानका प्रधानमन्त्री मोहम्मद सहबाज सरिफ र सेना प्रमुख फिल्ड मार्सल सैयद असिम मुनिर पनि स्विट्जरल्यान्ड पुगेका छन् । पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयले उच्चस्तरीय टोलीसहित नेतृत्वको सहभागिता पुष्टि गरेको छ ।

अर्कोतर्फ, इरानको प्रतिनिधित्व गर्दै संसद्का सभामुख मोहम्मद बागेर गालिबाफ र विदेशमन्त्री अब्बास अराघची पनि वार्तास्थलमा उपस्थित भइसकेका छन् ।

दुई परस्पर विरोधी शक्तिहरूलाई वार्ताको टेबुलमा ल्याउन भइरहेको यो प्रयासलाई विश्व राजनीतिमा निकै चासोका साथ हेरिएको छ । पाकिस्तानको प्रत्यक्ष सक्रियता र मध्यस्थतामा हुन लागेको यो वार्ताले अमेरिका र इरानबीचको चिसो सम्बन्धलाई निकास दिन्छ वा दिँदैन, त्यो आजको छलफलपछि स्पष्ट हुनेछ ।


सम्बन्धित समाचार