३० असोज, सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा खेतमा जमेको पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार डाक्नेश्वरी नगरपालिका–५ की भगवती यादवकी दुई वर्षीया छोरी श्रृष्टि कुमारी यादवको बुधबार डुबेर मृत्यु भएको हो ।
घरबाट करिब ५० मिटर पूर्व–दक्षिणतर्फ खेतमा जमेको पानीमा बालिका मृत फेला परेकी थिइन् । प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले बालिका खेल्ने क्रममा खेततर्फ जाँदा अनायासै पानीमा डुबेको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको जानकारी दिए ।
मृतकको शव पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।















