Logo

३० असोज काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको नाममा २६ वटा नक्कली सामाजिक सञ्जाल (फेक अकाउन्ट) सञ्चालनमा आएपछि साइबर ब्यूरोले त्यसको अनुसन्धान तीव्र पारेको छ ।

प्रधानमन्त्रीको पद र नामको दुरुपयोग गरी विभिन्न भ्रामक सूचना सम्प्रेषण गरिएको पाइएकोले प्रहरीले यसमा संलग्न व्यक्तिहरूलाई खोज्न थालेको हो।

कार्यालयमा बोलाएर सोधपुछ

प्रधानमन्त्रीको सचिवालयले ती फेक फेसबुक आईडीहरू नक्कली भएको भन्दै विज्ञप्ति जारी गरेपछि प्रहरीको केन्द्रीय साइबर ब्यूरो सक्रिय भएको हो । केन्द्रीय साइबर ब्यूरोका एसपी तथा प्रवक्ता दीपक राज अवस्थीले प्रधानमन्त्रीको नाममा नक्कली अकाउन्ट खोलेर चलाउनेहरूमाथि अनुसन्धान अघि बढाइएको पुष्टि गरेका छन् । अनुसन्धानको क्रममा केही शङ्कास्पद व्यक्तिहरूलाई कार्यालयमा बोलाएर सोधपुछ गर्न सुरु गरिएको छ, यद्यपि अहिलेसम्म कोही पनि पक्राउ परेका छैनन् ।

२६ अकाउन्ट बन्द गर्न पत्राचार

ब्यूरोले अहिलेसम्म प्रधानमन्त्री कार्कीको नाममा २६ वटा नक्कली सामाजिक सञ्जाल अकाउन्ट फेला पारेको छ । ती सबै नक्कली अकाउन्टहरू बन्द गराउने प्रक्रिया अघि बढेको छ । ब्यूरोले सम्बन्धित सामाजिक सञ्जाल कम्पनीहरूलाई ईमेलमार्फत पत्राचार गरिसकेको छ ।  प्रवक्ता अवस्थीका अनुसार केही नक्कली अकाउन्टहरू बन्द भइसकेका छन् भने बाँकी पनि बन्द हुने प्रक्रियामा रहेका छन् । अनुसन्धान फेक अकाउन्ट बनाउने र त्यसलाई सञ्चालन गर्ने मुख्य व्यक्तिहरुतर्फ केन्द्रित रहेको प्रहरीले जनाएको छ।


सम्बन्धित समाचार