३१ असोज, काठमाडौं । नेपाली बजारमा सुनको भाउले इतिहासकै सबैभन्दा ठूलो फड्को मारेको छ ।
शुक्रबार एकै दिन सुनको मूल्यमा ७ हजार १ सय रुपैयाँको कीर्तिमानी वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार रुपैयाँ तोकिएको छ । बिहीबार यसको भाउ २ लाख ५० हजार ९ सय रुपैयाँ थियो । यो मूल्य वृद्धिले सुन किन्ने र बेच्ने दुवैलाई ठूलो झट्का दिएको छ।
एक महिनामै ४३ हजार रुपैयाँको छलाङ
सुनको मूल्यवृद्धिको रफ्तार अत्यन्तै आक्रामक देखिएको छ । पछिल्लो एक महिनाको तथ्याङ्क हेर्ने हो भने भदौ ३० गते प्रतितोला २ लाख १५ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ अहिले ४३ हजार रुपैयाँले बढेर यो ऐतिहासिक बिन्दुमा पुगेको छ ।
किन बढ्दैछ भाउ?
नेपाली बजारमा सुनको भाउ बढ्नुको मुख्य कारण अन्तर्राष्ट्रिय बजारको मूल्यवृद्धि नै हो । विश्व बजारमा सुनको मूल्य प्रतिऔंस ४,३७० अमेरिकी डलरको हाराहारीमा पुगेको छ, जसको सिधा असर नेपाली बजारमा परेको छ। सुन मात्र होइन, चाँदीको मूल्य पनि ह्वात्तै बढेको छ। शुक्रबार चाँदीको भाउ प्रतितोला ७५ रुपैयाँले महँगिएर ३ हजार ३५० रुपैयाँ पुगेको छ । सुनको भाउमा आएको यो अप्रत्याशित उछालले पर्वको सिजन र लगानीका लागि सुन किन्न चाहने उपभोक्ताहरूलाई ठूलो अन्योलमा पारेको छ।















