Logo

३१ असोज, धनगढी  । कैलालीको जानकी गाउँपालिका–९ मा मृत्युपछि पनि सामाजिक सुरक्षा भत्ता निकासा गरिएको पाइएको छ। ७३ लाखभन्दा बढी रकम अनियमित भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडाध्यक्षसहित आठ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले जारी गरेको प्रेस विज्ञप्तिअनुसार वडाध्यक्ष खकेन्द्र भण्डारी, वडा सचिव प्रेमबहादुर बुढा र कार्यालय सहयोगी सोनम कठरियासहितको मिलोमतोमा ६८३ जना लाभग्राहीको नवीकरण आफैंले औंठाछाप लगाएर गरिएको थियो। तीमध्ये केही लाभग्राहीको पहिले नै मृत्यु भइसकेको पुष्टि भएको छ।

प्रयोगशालाको परीक्षणले वडा सचिवले २८० वटा दाहिने हातको बुढी औँलाको र १९९ वटा माझी औँलाको औंठाछाप गरी ४७९ थान औंठाछाप लगाएको देखिएको छ। कार्यालय सहयोगी कठरियाले २०४ थान औंठाछाप लगाएका थिए। यो प्रक्रियामार्फत नवीकरण नआएका व्यक्तिहरूको नाममा झुट्टा विवरण बनाएर भत्ता निकासा गरिएको हो।

मृतकका नाममा १५ लाख ५० हजार रुपैयाँ भुक्तानी

मृत्यु दर्ता भइसकेका व्यक्तिहरूको नाममा मात्र १५ लाख ५० हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ताबापत निकासा गरिएको तथ्य सार्वजनिक भएको छ।

भ्रष्टाचार मुद्दामा प्रतिवादी बनाइएका ८ जनामा वडाध्यक्ष भण्डारी, वडा सचिव बुढा, कार्यालय सहयोगी कठरिया, वडा सदस्यहरू कल्पना खड्का, सुनकोसा सार्की, विजय बहादुर रावल, शेर बहादुर विश्वकर्मा र तत्कालीन खरिदार पूर्णबहादुर बिष्ट रहेका छन्।

अख्तियारले वडाध्यक्ष, वडा सचिव, खरिदार र कार्यालय सहयोगीसँग ७३ लाख ३७ हजार ६२७ रुपैयाँ बिगो माग दाबी गरेको छ।अख्तियारको भनाइमा, यो कार्य संगठित रूपमा योजना बनाएर गरिएको देखिएको छ, जसमा लाभग्राहीको पहुँचबिना नै भत्ता वितरण प्रणालीको दुरुपयोग गरिएको छ।


सम्बन्धित समाचार
भर्खरै