Logo

१ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ले हालको अन्तरिम सरकार पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गठन भएको स्पष्ट पारेका छन्। उनले सरकार गठन प्रक्रियालाई लिएर भइरहेका भ्रमपूर्ण टिप्पणीहरूलाई खारेज गर्दै यस्तो दाबी गरेका हुन्।

शनिबार अखिल नेपाल ट्रेड युनियन महासंघ (अनेटा) ले आयोजना गरेको दीपावलीको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै प्रचण्डले अन्तरिम सरकार कुनै ‘हाहा–हुहु’ (जोकमा) बनेको नभई संविधान र प्रक्रियाअनुसार बनेको बताए।

“यो सरकार कामचलाउ प्रधानमन्त्री केपी ओलीकै सिफारिसमा बनेको हो। हाहा–हुहुमा बनेको भनेर जे भनिएको छ, त्यो झुट हो, सत्य होइन,“ प्रचण्डले भने।

उनका अनुसार राष्ट्रपतिले नियुक्त गरेको अन्तरिम सरकारको सिफारिस स्वयं ओलीबाट आएको थियो, र आफूले त्यसको लिखित प्रमाण—सिफारिसको पत्र—समेत हेरेको दाबी गरे।

“हामीले उहाँ (ओली) ले पठाएको चिठी हेरेका थियौं। सिफारिस गर्ने व्यक्तिले अहिले अन्यथा बोलेर हुन्छ?“ – प्रचण्ड

प्रचण्डले अन्तरिम सरकारको मुख्य काम संविधानअनुसार समयमै निर्वाचन गराउनु भएकोले त्यसलाई अस्थिर बनाउने वा अन्यथा व्याख्या गर्ने प्रयास देशमा अराजकता निम्त्याउने चेतावनीसमेत दिए।

“अन्तरिम सरकारको काम निर्वाचन गराउनु हो। यो बाटो छाडेर अर्को नारा उठाउने हो भने देशमा अराजक दुर्घटना निम्तिन्छ,“ उनले स्पष्ट गरे।

उनको यो टिप्पणी एमाले अध्यक्ष केपी शर्मा ओलीले पछिल्ला दिनमा अन्तरिम सरकारप्रति दिएको अभिव्यक्तिप्रति प्रतिक्रिया स्वरूप आएको हो। हाल माओवादी केन्द्र र नेकपा एमालेबीच अन्तरिम सरकार गठन, आगामी चुनाव, र सत्ता साझेदारीका विषयमा आरोप–प्रत्यारोप भइरहेका छन्।


सम्बन्धित समाचार
भर्खरै