३ कात्तिक,काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली कानुनभन्दा माथि नभएको स्पष्ट पारेका छन्। उनले ओलीमाथि अनुसन्धान हुनसक्ने संकेत दिंदै अब “पहिलेजस्तो नहुने” चेतावनी दिएका छन्।
सोमबार विपिन जोशीको श्रद्धाञ्जली कार्यक्रममा सहभागी हुने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री अर्यालले ओलीलाई देश बाहिर जान नदिने निर्णय सरकारले होइन, न्यायिक जाँचबुझ आयोगले गरेको बताएका छन्।
“ओलीलाई बाहिर जान नदिने कुरा सरकारले होइन, आयोगले गरेको हो। त्यसबारे आयोगलाई नै भन्नुपर्छ,” उनले भने।
ओलीले गृहमन्त्रीलाई चुनौती दिँदै आफूलाई रोकेर देखाउन भनेको प्रश्नमा मन्त्री अर्यालले भने, “त्यो कानुन मान्दिनँ भन्ने कुरा हो उहाँले।” उनले थपे, “केपी ओली मात्रै कानुनभन्दा माथि बस्ने, पहिलाको त्यस्तो थियो, अब त्यस्तो हुँदैन।”
हाल पूर्वप्रधानमन्त्री ओलीमाथि विभिन्न विवादित मुद्दामा छानबिन अघि बढिरहेको छ। गृहमन्त्री अर्यालको ताजा अभिव्यक्तिले राजनीतिक वृत्तमा तरंग ल्याएको छ।

















