Logo

३ कात्तिक,काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा वाणिज्य बैंकहरूको नाफा घटेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार साउन र भदौ महिनामा वाणिज्य बैंकहरूले १६ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ नाफा कमाएका छन्।

गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा वाणिज्य बैंकहरूले १६ अर्ब ६४ करोड ८७ लाख रुपैयाँ नाफा कमाएका थिए। यस वर्ष कुल नाफा ५ करोड रुपैयाँले घटेको हो।

२० वटा वाणिज्य बैंकमध्ये १४ वटाको नाफा वृद्धि भएको भए पनि बाँकी सात वटाको नाफा घट्दा कुल नाफामा कमी आएको राष्ट्र बैंकले जनाएको छ।

बैंकमध्ये सबैभन्दा धेरै नाफा ग्लोबल आईएमई बैंकले कमाएको छ। उक्त बैंकले पहिलो दुई महिनामा १ अर्ब ६२ करोड रुपैयाँ नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा ७.२६ प्रतिशतले घटेको हो।

त्यस्तै, अघिल्लो वर्ष १ अर्ब २३ करोड नाफा कमाएको हिमालयन बैंकको नाफा घटेर ३७ करोड रुपैयाँमा सीमित भएको छ। यो ३० प्रतिशतभन्दा बढी गिरावट हो।

वाणिज्य बैंकहरूमध्ये सबैभन्दा कम नाफा नेपाल एसबीआई बैंकको रहेको छ। बैंकले पहिलो दुई महिनामा ३५ करोड ४६ लाख रुपैयाँ नाफा कमाएको छ।

बैंकहरूको नाफा घट्नुमा ऋण विस्तारमा सुस्तता, उच्च ब्याजदर र लगानीगत गतिविधि अपेक्षाकृत कमजोर हुनु मुख्य कारण रहेको वित्तीय विश्लेषकहरूको भनाइ छ।


सम्बन्धित समाचार