४ कार्तिक, चितवन । भरतपुर विमानस्थल नजिक स्कुटर दुर्घटना हुँदा दुई युवाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार स्कुटर आफैं अनियन्त्रित भएर दुर्घटना भएको हो।
प्रहरीका अनुसार बागमती प्रदेश ०६–००३ प ०६९२ नम्बरको स्कुटर भरतपुर–१० विमानस्थल नजिकै शनिबार राति दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनामा परेर स्कुटर चालक भरतपुर–२१ का २५ वर्षीय सन्दीप घिमिरे र पछाडि सवार २८ वर्षीय कुशल अर्याल दुबैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरीले जानकारी दिए ।
दुर्घटनापछि गम्भीर घाइते भएका दुबै जनालाई तत्काल उद्धार गरी उपचारका लागि भरतपुर अस्पताल पुर्याइएको थियो। तर, चिकित्सकहरूले दुबैलाई मृत घोषणा गरेका थिए।
प्रारम्भिक अनुसन्धानअनुसार स्कुटर तीव्र गतिमा हुँदा चालकले नियन्त्रण गुमाएको र सडक किनारमा ठोक्किएर दुर्घटना भएको प्रहरीको अनुमान छ।
घटनास्थलमा तत्काल प्रहरी टोली पुगेको र आवश्यक कानुनी प्रक्रिया पूरा गरेर शव पोस्टमार्टमका लागि भरतपुर अस्पतालमै राखिएको एसपी पुरीले बताए।
प्रहरीले दुर्घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।















