Logo

४ कार्तिक, काठमाडौँ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले आफ्नो ७३ औँ स्थापना दिवस २०८२ सालको कार्तिक १० गते विशेष कार्यक्रमसहित मनाउने भएको छ।

तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङका अनुसार उपत्यकाबाहेकका सबै जिल्लामा जिल्लास्तरीय शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरी स्थापना दिवस मनाइनेछ। उपत्यकाका तीनवटै जिल्ला भने केन्द्रीय समितिको आयोजनामा नेपाली कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा हुने कार्यक्रममा सहभागी हुनेछन्।

यस वर्षको स्थापना दिवसलाई फरक शैलीमा मनाउने तयारी गरिएको अध्यक्ष गुरुङले बताए। उनले स्वागतमा फूलमाला र लामो भाषणजस्ता परम्परागत औपचारिकता नराखी कार्यक्रमलाई सरल र प्रभावकारी बनाउने उल्लेख गरे।

कार्यक्रममा नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का, पार्टी पदाधिकारी, केन्द्रीय सदस्यहरू, संघीय सांसद, राष्ट्रिय सभा सदस्य, प्रदेश कार्यसमिति, प्रदेशका गाउँ/नगरपालिका प्रमुख तथा उपप्रमुख, निर्वाचित जनप्रतिनिधिहरू, र तरुण दलका केन्द्रीय सदस्यहरूको विशेष उपस्थिति रहने जानकारी दलका मुख्य सचिव ठान प्रसाद पोखरेलले दिए।

यसै अवसरमा अन्य राजनीतिक दलका भातृ संगठनका प्रमुखहरूलाई समेत केन्द्रीय कार्यक्रममा निमन्त्रणा गरिने पोखरेलले जानकारी दिए। उनले जिल्लास्तरीय कार्यक्रमहरूमा पनि त्यही अनुरूप अतिथि व्यवस्थापन गरिने बताए।

नेपाल तरुण दलले आफ्नो स्थापना दिवसलाई राजनीतिक जागरण, संगठन विस्तार, र युवाहरूमा चेतना फैलाउने अवसरका रूपमा उपयोग गर्दै आएको छ।


सम्बन्धित समाचार
भर्खरै