४ कार्तिक, काठमाडौँ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ७६ जनामध्ये अझै १२ जनाको पहिचान खुल्न सकेको छैन। गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार ती मृतकमध्ये धेरैजसो आगलागीमा जलेका व्यक्तिहरू छन्।
गृहमन्त्री अर्यालले जनाएअनुसार नेपाल प्रहरीका ३ जना सहित ५३ जना नागरिकको पहिचान भइसकेको छ। ती पहिचान खुलेका मृतकका परिवारलाई सरकारले जनही १५ लाख रुपैयाँका दरले राहतस्वरूप रकम निकासा गरिसकेको छ। हालसम्म ४९ जना परिवारले रकम प्राप्त गरिसकेका छन् भने बाँकी ४ जनालाई वितरण प्रक्रिया जारी रहेको गृह मन्त्रालयले जनाएको छ।
गृहमन्त्रीका अनुसार पहिचान नखुलेका १२ जनामध्ये धेरैजसो आन्दोलनको मौका छोपी भाटभटेनीसहितका स्थानमा लुटपाट र आगजनी गर्न जाँदा जलेर मृत्यु भएको अनुमान गरिएको छ। ती शवहरूको पहिचान गर्न हाल अनुसन्धान जारी रहेको छ।
यसका अतिरिक्त, आन्दोलनको क्रममा देशका विभिन्न स्थानका कारागारबाट भाग्ने प्रयासमा संलग्न १० जना कैदी सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएका थिए। मृतकमध्ये एक जना विदेशी नागरिकसमेत रहेको गृहमन्त्री अर्यालले जानकारी दिए।
सरकारले आन्दोलनमा मृत्यु भएका नेपाली नागरिकका परिवारलाई सहिद घोषणा प्रयोजनका लागि यकिन विवरण संकलन गर्दैछ। यसका लागि प्रहरी प्रतिवेदन र जिल्ला प्रशासन कार्यालयमार्फत पुष्ट्याइँ प्रक्रिया अघि बढाइएको छ।















