४ कात्तिक, पूर्वी नवलपरासी । चितवन राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टरमा एक भाले गैँडा मृत अवस्थामा फेला परेको छ। निकुञ्जको कोर एरियाको बाँदरझुला क्षेत्रमा करीब २५ वर्षको भाले गैँडा दलदलमा फसेर मरेको अवस्थामा फेला परेको हो।
निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार गैँडाको खाग र खुर सुरक्षित अवस्थामा फेला परेको छ। प्रारम्भिक अनुसन्धान अनुसार दलदलमा फसेर मृत्यु भएको अनुमान गरिएको छ।
यो घटनासँगै चालु आर्थिक वर्षमा मर्ने गैँडाको संख्या चार पुगेको छ। निकुञ्जका अनुसार गत आर्थिक वर्षमा मात्रै २८ वटा गैँडाको मृत्यु भएको थियो।
चितवन राष्ट्रिय निकुञ्जमा गैँडाको मृत्युको दर उच्च हुँदै गएकोमा संरक्षणकर्मीहरू चिन्तित छन्। गैँडाको मृत्युलाई लिएर कारण पत्ता लगाउन र रोकथामका उपायहरू अवलम्बन गर्नुपर्ने माग उठ्दै आएको छ।















