६ कात्तिक,काठमाडौं । विश्वका दुलर्भ र लोपोन्मुख प्रजाति हिउँचितुवाको संरक्षणका लागि २३ अक्टोबरमा अन्तरराष्ट्रिय हिउँ चितुवा दिवस मनाइँदैछ। ‘मौन संरक्षकहरुको सुरक्षा गर्दै’ नाराका साथ मनाइने यस दिवसले जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राखेको छ।
नेपालसहित १२ देशमा मात्र पाइने हिउँचितुवा स्वच्छ हिमाली वातावरणको संकेत मानिन्छ। वन तथा वातावरण मन्त्रालयको तथ्याङ्कअनुसार नेपालमा ३९७ हिउँचितुवा छन्, जुन विश्वमा पाइने कुल जनसंख्याको १० प्रतिशतभन्दा बढी हो। नेपालको उच्च हिमाली क्षेत्र करिब ३० हजार ५०० वर्ग किलोमिटरमा यसको बासस्थान रहेको छ।
हिउँचितुवाको संरक्षणमा प्रमुख चुनौतीहरूमा बासस्थानको ह्रास, आहार प्रजातिको कमी, चोरीशिकार र गैरकानुनी व्यापार रहेका छन्। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा बुद्धिसागर पौडेलका अनुसार जलवायु परिवर्तनले उच्च हिमाली क्षेत्रमा प्रभाव पार्दै बासस्थान र आहार प्रजातिमा कमी आएको छ। साथै, स्थानीय समुदायसँग हुने द्वन्द्वलाई घटाउन सचेतना र उचित क्षतिपूर्ति व्यवस्था आवश्यक रहेको बताए।
राष्ट्रिय प्रकृति संरक्षण कोषले हिउँचितुवाबाट स्थानीय बस्तुहरू जोगाउन सुरक्षित खोर निर्माण, समुदाय आधारित संरक्षण र क्यामेरा ट्र्यापमार्फत अनुगमनजस्ता कार्यक्रम संचालन गर्दै आएको छ। वन मन्त्रालयले ‘हिउँचितुवा संरक्षण र कार्ययोजना (२०२४–२०३०)’ तयार गरी यसका लागि प्राथमिकता दिएको छ।
विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालका प्रतिनिधि डा घनश्याम गुरुङले संरक्षणका लागि क्षेत्रीय, अन्तर्राष्ट्रिय समन्वय र समुदाय संलग्नतामा जोड दिँदै सीमापार सहयोग आवश्यक रहेको बताएका छन्।
हिउँचितुवा समुद्री सतहदेखि पाँच हजार मिटरसम्मको उच्च हिमाली क्षेत्रमा पाइने प्रजाति हो र आइयुसिएनले यसलाई विश्वव्यापी जोखिममा परेको लोपोन्मुख प्रजातिको रूपमा सूचीकृत गरेको छ। यसको संरक्षणका लागि द्विपक्षीय तथा अन्तर्राष्ट्रिय सहकार्य अनिवार्य रहेको विज्ञहरूले जोड दिएका छन्।
















