Logo

प्रतिकात्मक चित्र

७ कार्तिक, सोलुखुम्बु । सोलुखुम्बुमा बिहीबार साँझ बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । माप्य दूधकोशी गाउँपालिकाबाट महाकुलुङ गाउँपालिकातर्फ जाँदै गरेको गाडी सडकबाट खस्दा दुर्घटना भएको हो ।

माप्य दूधकोशी गाउँपालिका–६ र ७ को सिमानामा पर्ने भिरकुना नामक स्थानमा जिप दुर्घटनामा परेको वडा नम्बर ७ का अध्यक्ष सगुजित राई ले जानकारी दिए। उनका अनुसार, दुर्घटना भएको बोलेरो गाडी सडकबाट करिब ४ सय मिटर तल खसेको हो ।

दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको र छ जना घाइते भएका छन् । गाडी खुम्बुबाट महाकुलुङतर्फ यात्रु लिन माप्य गएको र फर्किने क्रममा दुर्घटना भएको प्रारम्भिक जानकारी आएको वडा अध्यक्ष राईले बताए ।

रातिको समय भएकाले मृत्यु भएकाहरूको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । घाइतेहरूलाई तत्काल उद्धार गरी वाकु अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार, दुर्घटनाको विस्तृत विवरण र कारणबारे थप अनुसन्धान भइरहेको छ । स्थानीयवासी र सुरक्षाकर्मीले राति नै उद्धार कार्य सञ्चालन गरेका थिए ।

प्रहरीले भनेको छ — “दुर्घटनास्थल दुर्गम र साँघुरो सडकमा पर्ने भएकाले उद्धारमा कठिनाइ भए पनि घाइते सबैलाई अस्पताल पुर्‍याइएको छ।”

सोलुखुम्बुको पहाडी भूभागमा सडक अवरोध, साँघुरो बाटो र वर्षायामपछि बिग्रिएको सडकका कारण पछिल्ला वर्षहरूमा सवारी दुर्घटनाको जोखिम बढ्दै गएको स्थानीयवासीको भनाइ छ ।


सम्बन्धित समाचार