Logo

फाइल तस्वीर

७ कात्तिक,वीरगञ्ज । मधेसी अधिकृत समाज नेपालले छठ पर्वका अवसरमा सरकारले दिँदै आएको एक दिने सार्वजनिक बिदामा पुनर्विचार गर्न माग गरेको छ। समाजका अध्यक्ष भूदेव झाले बिहीबार जारी विज्ञप्तिमार्फत प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारलाई यस विषयमा ध्यान दिन आग्रह गरेका हुन्।

चार दिनसम्म कठोर विधि र ३६ घण्टासम्म निर्जल व्रत बसेर मनाइने यो महापर्वका लागि एक दिनको मात्र बिदा पर्याप्त नभएको समाजको तर्क छ। संघीय सरकारले हालसम्म मुख्य दिनमा मात्र बिदा दिने प्रचलन राखे पनि समाजले पर्वको सम्पूर्ण अवधिभर बिदा दिनुपर्ने माग गरेको छ।

अध्यक्ष झाका अनुसार, “चार दिन लामो यो पर्वमा एक दिनको मात्र बिदा दिँदा व्रतालु, विद्यार्थी र कर्मचारी सबैलाई गम्भीर असुविधा भएको छ।” उनले छठ पर्व धार्मिक आस्था, कठोर अनुशासन र सामाजिक एकताको प्रतीक भएको भन्दै यसमा बिदा सीमित गर्नु धार्मिक आस्थाप्रति अनादरसरह हुने टिप्पणी गरे।

समाजले यस निर्णयले सांस्कृतिक समावेशिताको मर्ममाथि प्रश्न उठेको बताउँदै बिदाको अवधि बढाउन सरकारलाई आग्रह गरेको छ।


सम्बन्धित समाचार