७ कात्तिक,वीरगञ्ज । हरेक वर्ष छठ पूजाको उपलक्ष्यमा रक्तदान कार्यक्रम गर्दै आएको वीरगञ्जको घडिअर्वा स्पोटर्स क्लबले यस वर्ष पनि सामाजिक सेवाको भावलाई निरन्तरता दिँदै रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।
क्लबका अध्यक्ष सन्तोष साह कानूले दिएको जानकारी अनुसार यस वर्ष छठ पूजाको उपलक्ष्यमा कार्तिक ८ गते शनिबार रक्तदान कार्यक्रम आयोजना गर्ने निर्णय भएको छ ।
मानवीय सेवामा योगदान गर्ने उद्देश्यले आयोजना गर्न लागिएको यो कार्यक्रम वीरगञ्ज महानगरपालिका वडा नम्बर १० स्थित घडिअर्वा पोखरी परिसरमा हुनेछ । रक्तदान कार्यक्रम कात्तिक ८ गते शनिबार बिहान ७.३० बजेदेखि सुरु भएर दिउँसोसम्म चल्ने अध्यक्ष कानुले बताए ।
नेपालकै साझा पर्वका रुपमा स्थापित हुँदै गएको छठ पूजाको अवसरमा धार्मिक आस्थाका साथै सामाजिक सेवाको भावनाले क्लबले हरेक वर्ष रक्तदान कार्यक्रम गर्दै आएको उनले जानकारी दिए । उनले कार्तिक ८ गते हुने रक्तदान कार्यक्रममा सहभागी भई मानवीय सेवामा योगदान गरिदिनका लागि सम्पूर्णमा सार्वजनिक अपिल समेत गरेका छन् ।

















