७ कात्तिक, काठमाडौं। आत्मदाहको प्रयास गरेर गम्भीर घाइते भएकी गायिका नितु पौडेलको शुक्रबार उपचारकै क्रममा मृत्यु भएको छ । कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचाररत पौडेलको आज बिहान साढे ८ बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले पुष्टि गरे ।
गत शनिबार (कात्तिक १ गते) पौडेलले काठमाडौंको अनामनगरस्थित एक स्टुडियोमा आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेकी थिइन् । आगोले गम्भीर घाइते भएपछि उनलाई तत्काल उपचारका लागि अस्पताल लगिएको थियो ।
प्रहरीका अनुसार यो घटनापछि गायक बाबुल गिरीलाई बोलाएर सोधपुछ गरिएको थियो र उनी अझै पनि प्रहरीको सम्पर्कमा रहेका छन् । यद्यपि, मृतक गायिकाको पक्षबाट गिरीविरुद्ध कुनै जाहेरी भने नआएको एसपी भट्टराईले जानकारी दिएका छन् ।
आत्मदाहको प्रयासको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।















