७ कात्तिक,वीरगञ्ज । आस्थाको महापर्व छठ पर्वलाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउन मधेश प्रदेश प्रहरीले एक विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ। उक्त योजनालाई ‘अप्रेसन आस्था’ नाम दिइएको छ।
मधेश प्रदेश प्रहरीका नायव महानिरीक्षक (डिआइजी गोविन्द थपलिया) का अनुसार, छठ पर्वको संवेदनशीलतालाई ध्यानमा राख्दै प्रदेशभरका आठवटै जिल्लामा करीब सात हजार सुरक्षाकर्मी परिचालन गरिएको छ।
डिआइजी थपलियाले जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बताए अनुसार, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, झैझगडा गर्ने वा भिडभाडमा अव्यवस्था सिर्जना गर्नेलगायत सम्भावित जोखिमहरूलाई रोक्न यो विशेष सुरक्षा योजना लागू गरिएको हो।
सुरक्षा व्यवस्थामा ट्राफिक प्रहरी, महिला प्रहरी, मोबाइल पेट्रोलिङ टोली तथा सादा पोसाकका सुरक्षाकर्मीहरू समेत खटाइएका छन्। प्रहरीलाई छठका मुख्य स्थल — घाट, तलाउ, नदी किनार, बजार क्षेत्र र मुख्य राजमार्गहरूमा विशेष सतर्कता अपनाउन निर्देशन दिइएको डिआइजी थपलियाले बताए।
उनका अनुसार, छठ पर्व आस्थासँग जोडिएको धार्मिक पर्व भएकाले जनताको श्रद्धा र विश्वास सुरक्षित राख्न सुरक्षाका सबै संयन्त्रहरू सक्रिय रूपमा खटिनेछन्।
प्रहरीले मादक पदार्थ सेवन गरी सवारी चलाउने वा सार्वजनिक स्थानमा हुलदङ्गा गर्ने जो कोहीमाथि कडा कारबाही गरिने चेतावनी पनि दिएको छ। साथै, अत्यधिक भिडभाड हुने स्थलहरूमा सिसी क्यामेरा निगरानी, अस्थायी सुरक्षा चौकी स्थापना र मोबाइल गस्ती टोलीहरूलाई सक्रिय पारिएको प्रहरीले जनाएको छ।
छठ पर्वका अवसरमा मधेश प्रदेशभर शान्ति, सुरक्षा र जनविश्वास कायम राख्न ‘अप्रेसन आस्था’ले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
















