Logo

९ कार्तिक, काठमाडौँ । तराई मधेशमा मनाईने लोकआस्थाको महापर्व छठको लागि काठमाडौं महानगरपालिकाले आठ वटा स्थानलाई घाटका रूपमा तोकेको छ।

काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै कमलपोखरी, गौरीघाट, बोक्सीदह, बागमती दोभान, टंकश्वर, बल्खु कुमारी क्लब अगाडि, कुलेश्वर भलिबल मैदान र रामघाटमा छठ पर्व मनाउन व्यवस्था गरिएको बताए ।

प्रहरी प्रमुख पाण्डेका अनुसार ती सबै ठाउँमा महानगरले सरसफाइको काम सुरु गरिसकेको छ। उनले भने, “छठ पर्वका लागि कुनै कमी नहोस् भनेर व्यवस्थापनका सबै पक्षमा ध्यान दिइरहेका छौं । सरसफाइका लागि तीन सयभन्दा बढी सरसफाइकर्मी खटाइएका छन्।”

महानगरले छठ पर्वका लागि सफा र सुरक्षित वातावरण सुनिश्चित गर्नका साथै घाट सजावट, फोहर व्यवस्थापन, प्रकाश व्यवस्था र ट्राफिक व्यवस्थापनमा पनि विशेष ध्यान दिइरहेको जनाएको छ ।

महानगर प्रहरी प्रमुख पाण्डेले छठ पर्वका नाममा ताल पोखरी वा अन्य सार्वजनिक स्थलमा जबर्जस्ती रकम उठाउने कार्य गर्न नपाइने चेतावनी दिएका छन् ।
उनले यस किसिमका गतिविधि देखिएमा कानूनी कारबाही पनि गरिने स्पष्ट पारे ।

आराध्यदेव सूर्य र ब्रह्माकी मानसपुत्री ‘षष्ठी देवी’ (छठी माता) को आराधना गरी मनाइने छठ पर्व शनिबारदेखि देशभर सुरु भएको हो । चार दिनसम्म चल्ने यस पर्वको पहिलो दिन ‘नहाय-खाय’ विधिबाट आरम्भ भइसकेको छ।

यस वर्ष कात्तिक १० गते सोमबार (षष्ठी तिथि) का दिन साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइनेछ भने कात्तिक ११ गते मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिई पर्वको समापन गरिनेछ।

नेपाल सरकारले छठ पर्वलाई राष्ट्रिय पर्वको मान्यता दिँदै हरेक वर्ष यस अवसरमा सार्वजनिक बिदा दिँदै आएको छ।

केही वर्षअघिसम्म मुख्यतः तराईका जिल्लाहरूमा सीमित रहेको यो पर्व अहिले राजधानी काठमाडौंसहित देशका प्रमुख शहरहरूमा पनि उत्तिकै भव्यताका साथ मनाइँदै आएको छ।

छठ पर्वले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र सांस्कृतिक एकता सुदृढ गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै महानगरले यस वर्ष पनि पर्व शान्तिपूर्ण, स्वच्छ र भव्य वातावरणमा सम्पन्न गर्न पूर्ण सहयोग गर्ने जनाएको छ ।


सम्बन्धित समाचार
भर्खरै