Logo

९ कात्र्तिक, काठमाडौं । तिहार पर्व सकिएपछि पनि बैंकिङ प्रणालीमा अधिक तरलता कायमै रहेकाले त्यसको व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंक आज बजारबाट ९० अर्ब रुपैयाँ निक्षेप तान्दैछ ।

केन्द्रीय बैंकले ‘निक्षेप संकलन उपकरण’को बोलकबोल मार्फत उक्त रकम वित्तीय प्रणालीबाट बाहिर निकाल्न लागेको हो । अहिले कुल निक्षेपको मात्रा ७४ खर्ब रुपैयाँभन्दा बढी पुगिसकेको छ । राष्ट्र बैंकले वित्तीय प्रणालीमा देखिएको यो अधिक तरलतालाई व्यवस्थापन गर्दै बजार ब्याजदरलाई स्थिर र व्यवस्थित गर्नका लागि नियमित रूपमा निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधा प्रयोग गर्दै आएको छ ।

बोलकबोलको प्रक्रिया

आज अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिएको यो उपकरणको ब्याजदर बोलकबोलको माध्यमबाटै निर्धारण हुनेछ । यस बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त कु, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् । रकम बाँडफाँट गर्दा, काउण्टर पार्टीहरूले बोल गरेको ब्याजदरमा सबैभन्दा कम दर बोल गर्नेलाई क्रमशः प्राथमिकता दिई आह्वान गरिएको रकमसम्म बाँडफाँट गरिनेछ । बोल गर्न सकिने न्यूनतम रकम १० करोड रुपैयाँ र अधिकतम आह्वान रकमसम्म हुनेछ, जुन ५ करोड रुपैयाँले निःशेष भाग जाने गरी हुनुपर्नेछ ।

भुक्तानी कहिले?

आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याजको भुक्तानी २०८२ साल मंसिर २१ गते हुने जानकारी राष्ट्र बैंकले दिएको छ । केन्द्रीय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधिले वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता देखिएमा त्यसको व्यवस्थापन गर्न बढीमा ६ महिना अवधिको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था गरेको छ । यही व्यवस्था टेकेर राष्ट्र बैंकले पटकपटक यस्तो उपकरण प्रयोग गर्दै आएको छ ।


सम्बन्धित समाचार