Logo

९ कात्र्तिक, काठमाडौँ । महाराजगन्जमा जेनजी आन्दोलन’का प्रदर्शनकारीको आक्रमणबाट प्रहरी सहायक निरीक्षक (असई) मिलन राय र जवान उत्तम थापाले ज्यान गुमाएको घटनामा प्रहरीले अनुसन्धानलाई तीव्र पारेको छ ।

प्रहरी वृत्त महाराजगन्जमा कार्यरत ती दुई प्रहरीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले थप पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमध्ये गोरखा र तनहुँका २१ वर्षीय तीन युवाहरू छन् । सर्लाही घर भएका १७ वर्षीय सुमित तितुङ र रामेछापका १६ वर्षीय दीपक मगरलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका सबैलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्षले पक्राउ परेका यी व्यक्तिहरूले कुटपिट गरी महाराजगन्जमा कार्यरत ती दुई प्रहरीको हत्या गरेको देखाएको छ ।

४ जना कारागारमा

प्रहरी हत्यामा संलग्न भएको आरोपमा यसअघि नै चार जना आरोपितहरू कारागार चलान भइसकेका छन् । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाका युवराज क्याप्छाकी, मकवानपुरको थाहा नगरपालिकाका सोनाम तामाङ भनिने बुद्धिलाल थिङ, सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिकाका उदयपुरको चौदण्डीगढी नगरपालिकाका होम प्रसाद पौडेल र टिकाराम बिक जिल्ला अदालतको आदेशपछि पुर्पक्षका लागि थुनामा गएका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले दिएको जानकारी अनुसार पछि पक्राउ परेका व्यक्तिहरूविरुद्ध अनुसन्धान सकेर छिट्टै पूरक अनुसन्धान प्रतिवेदन पेस गर्ने तयारी भइरहेको छ ।
पक्राउ परेकामध्ये सुमित तितुङ र दीपक मगरलाई असार ३१ गतेदेखि नै हिरासतमा राखिएको थियो भने अन्य तीन जना आरोपीहरू कात्तिक ३ गते पक्राउ परेका हुन् ।


सम्बन्धित समाचार