Logo

११ कात्र्तिक, काठमाडौं । बंगालको खाडीमा विकसित भएको ‘मोन्था’ नामको चक्रवात आज तीव्र गतिमा शक्तिशाली आँधीमा परिणत हुने चेतावनी भारतीय मौसम विभागले जारी गरेको छ।

यस शक्तिशाली मौसमी प्रणालीको प्रभावबाट नेपाल पनि अछुतो नरहने मौसमविद्हरूले बताएका छन् ।

भारतमा रेड अलर्ट

भारतीय मौसम विभागका अनुसार ‘मोन्था’ चक्रवात आज साँझ वा रातिको समयमा आन्ध्र प्रदेशको काकीनाडा नजिकै मछलीपट्टनम र कलिंगपट्टनमको बीचमा तट पार गर्ने सम्भावना छ । तट पार गर्ने समयमा हावाको गति ९० देखि १०० किलोमिटर प्रतिघण्टा सम्म पुग्न सक्ने अनुमान गरिएको छ । आँधीको जोखिमलाई ध्यानमा राख्दै आन्ध्र प्रदेश र ओडिशाका केही भागहरूमा चक्रवातको उच्च चेतावनी जारी गरिएको छ । यसबाहेक, चक्रवातको प्रभावले आजदेखि बिहीबारसम्म महाराष्ट्रको विदर्भ क्षेत्रमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना पनि छ ।

नेपालमा ‘मोन्था’ को असर पर्ला ?

भारतीय सिमानामा विकसित यो चक्रवातको असर नेपालमा पनि पर्ने सम्भावना रहेको मौसमविद् डेभिड ढकालले बताएका छन् । उनले मोन्था चक्रवातले खासगरी नेपालको पूर्वी क्षेत्रमा वर्षा र हावाहुरी हुने सम्भावना रहेको बताएका छन् । मौसम पूर्वानुमान महाशाखाले यस विषयमा विस्तृत जानकारी दिनको लागि बुलेटिन तयार गरिरहेको र केही समयपछि सार्वजनिक गर्ने तयारी रहेको जनाएको छ ।

चक्रवातको सम्भावित विध्वंसलाई मध्यनजर गर्दै भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष जेपी नड्डाले आन्ध्र प्रदेश, ओडिसा, तमिलनाडु, पुडुचेरी र अन्डमान निकोबार टापुका पार्टी एकाइहरूलाई राहत तथा सहायताका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।


सम्बन्धित समाचार