१२ कात्र्तिक, काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक राजनीतिमा सरगर्मी बढेको छ ।
पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय समिति बैठकका एजेन्डा र पार्टीको १५औँ महाधिवेशनको कार्यतालिका तय गर्न संस्थापन समूहका नेताहरूको गोप्य बैठक बोलाएका छन् ।
ललितपुरको धोविघाटस्थित सिद्धार्थ कटेजमा जारी यो बैठकमा संस्थापन पक्षीय पदाधिकारी, पूर्वपदाधिकारी र प्रभावशाली केन्द्रीय सदस्यहरू सहभागी छन् । सभापति शेरबहादुर देउवाले उपसभापति खड्कालाई कार्यवाहकको जिम्मेवारी सुम्पिएपछि उनले बोलाएको यो चौथो गुटगत बैठक हो । बैठकको मुख्य केन्द्रबिन्दु महाधिवेशनको मिति निर्धारण रहेको एक सहभागी नेताले जानकारी दिएका छन् । छलफलमा नेताहरूले महाधिवेशनका लागि दुईवटा विकल्पमा प्रस्ताव लैजाने विषयमा सहमति जुटाउन खोजिरहेका छन् । निर्वाचन भएमा महाधिवेशन वैशाखमा गर्ने र निर्वाचन नभएमा महाधिवेशन फागुनमा गर्ने सहमति जुटाउने तारी गरिएको छ ।
नेताहरूले महाधिवेशनको मिति सर्वसम्मत तरिकाले पास गर्न कार्यवाहक सभापति खड्कालाई सुझाव दिएका छन् । साथै, बैठकमा विशेष महाधिवेशनका लागि बुझाइएको हस्ताक्षर र समग्र महाधिवेशनको तयारीबारे पनि छलफल भइरहेको छ।
















