Logo

१३ कार्तिक, काठमाडौँ । देशभर आज विभिन्न मौसमीय प्रणालीहरूको संयुक्त प्रभाव देखिएको छ। पश्चिमी वायु, अरब सागरमा बनेको न्यून चापीय प्रणाली तथा बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को आंशिक प्रभाव नेपालमा परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज बिहानैदेखि देशभर सामान्य बदली देखिएको छ। महाशाखाका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षासहित हिमपात, र अन्य प्रदेशका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपात भइरहेको छ।

दिउँसो पनि मौसममा उल्लेखनीय सुधार हुने सम्भावना छैन। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश भूभागमा मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा, र देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपात हुन सक्ने अनुमान गरिएको छ।

महाशाखाका अनुसार आज राति पनि पूर्वदेखि पश्चिमसम्म अधिकांश स्थानमा बदली रहनेछ। कोशी, मधेस र बागमती प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षा, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा मध्यमदेखि भारी वर्षा, र अन्य पहाडी भूभागका केही स्थानहरूमा हल्का वर्षा हुने सम्भावना रहेको छ।

यससँगै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा मध्यम हिमपात, र केही स्थानमा भारी हिमपात हुने पूर्वानुमान गरिएको छ।

महाशाखाले कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा र कोशी, बागमती तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा भारी हिमपात हुने चेतावनीसमेत दिएको छ।

त्यसैले, पहाडी तथा हिमाली भेगका बासिन्दा र यात्रुहरूलाई सचेत रहन र नदी–खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ।

मौसमविद्हरूका अनुसार, अरब सागर र बङ्गालको खाडीमा सक्रिय रहेका प्रणालीहरूको असरले नेपालको पूर्वी र मध्य भूभागमा वर्षा र हिमपातका गतिविधि अझ केही दिनसम्म रहिरहन सक्ने सम्भावना रहेको छ।


सम्बन्धित समाचार