Logo

१३ कार्तिक, काठमाडौँ । आज कार्तिक शुक्ल नवमी, सनातन धर्मावलम्बीहरूले कुष्माण्ड नवमीका रूपमा श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन्।

सनातन परम्परा अनुसार, यो दिन भगवान् विष्णुले कुष्माण्डक नामक दैत्यको वध गरेको उल्लेख सनत्कुमार संहितामा पाइन्छ। त्यसैको स्मरणार्थ आजको दिनलाई ‘कुष्माण्ड नवमी’का रूपमा मनाउने चलन रहिआएको हो।

पौराणिक ग्रन्थका आधारमा, कुष्माण्ड नवमीका दिन कुभिण्डो (फर्सी) दान गर्दा ठूलो पुण्य प्राप्त हुने विश्वास छ। पुराणविद् तोयराज नेपालका अनुसार, यस दिन कुभिण्डो दान गर्नेले धन, आयु र यश प्राप्त गर्छन्।

उनका अनुसार, “नवमीका दिन कुभिण्डो दान गरेर एकादशीका दिन भगवान् कृष्णसँग तुलसीको विवाह गराउनेले कन्यादान बराबरको पुण्य प्राप्त गर्छ।”

तोयराज नेपालका अनुसार, नवमीदेखि तीन दिनसम्म वैवाहिक उत्सव गरी अमलाको रुख र पिपलको संयुक्त विवाह गराउने परम्परा पनि रहेको छ। यस विधिबाट घर–परिवारमा समृद्धि, सौभाग्य र दीर्घायु प्राप्त हुने जनविश्वास छ।

यसै अवसरमा भक्तजनहरूले अमलाको रुखमुनि ब्राह्मणभोजन गराउने वा वनभोज (पिकनिक) गर्ने परम्परा पनि रहेका छन् । अमला र तुलसीको संयुक्त पूजाद्वारा शरीरमा शुद्धता र आत्मामा पवित्रता बढ्ने धार्मिक विश्वास रहेको पुराणविद्हरू बताउँछन्।

कुष्माण्ड नवमीलाई केवल धार्मिक दृष्टिले मात्र नभई आयुर्वेदिक र स्वास्थ्य सन्दर्भमा पनि महत्वपूर्ण मानिन्छ । अमला, तुलसी र पिपल जस्ता वनस्पतिहरूको पूजा र सेवनले रोग प्रतिरोधात्मक शक्ति बढाउने वैज्ञानिक तथ्य समेत जोडिएको पाइन्छ।

यसरी, कुष्माण्ड नवमीले श्रद्धा, दान, सेवा र प्राकृतिक तत्वप्रतिको सम्मानको सन्देश दिने सनातन परम्पराको सुन्दर अभिव्यक्ति बनेको छ।


सम्बन्धित समाचार