Logo

१४ कात्र्तिक, काठमाडौं । गत बिहीबारदेखि परेको अविरल वर्षा र पहिरोका कारण देशभरका मुख्य १२ वटा सडक र राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् ।

नेपाल प्रहरीका अनुसार आज शुक्रबार बिहान १० बजेसम्मको तथ्याङ्कले मुलुकको यातायात सञ्जालमा गम्भीर असर परेको देखाउँछ । यातायात अवरुद्ध हुँदा दशैं–तिहारको समयमा यात्रा गरिरहेका यात्रुहरू र दैनिक उपभोग्य वस्तुहरूको ढुवानीमा प्रत्यक्ष असर परेको छ ।

केही बेर अघिको विवरण अनुसार वर्षाका कारण कोशी राजमार्गअन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका ४ बरुणखोला, मेची राजमार्गअन्तर्गत इलामका विभिन्न ठाउँमा, तमोर करिडोर सडकखण्डअन्तर्गत पाँचथरको नावाखोला, सिद्धिचरण लोकमार्गअन्तर्गत ओखलढुंगाको मानेभन्ज्याङको सीमाना, बीपी राजमार्गका विभिन्न ठाउँ, नेपाल चीन नाका जोड्ने पुल, पासाङ ल्हामु सडक र मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर अकवरेभिर नजिकै पहिरोका कारण सडक पूर्ण रुपमा अवरुद्ध भएका छन् ।

त्यस्तै, मध्यपहाडी राजमार्गअन्तर्गत रामेछापको खैरेनीघाट, जोमसोम कोरला सडकखण्डअन्तर्गत मुस्ताङको कालाभिर, बेनी दरबाङ सडकखण्डअन्तर्गत म्याग्दीको घुमाउने भीर र भेरी करिडोरअन्तर्गत डोल्पाको खोरबाघ भन्ने स्थानमा पहिरोका कारण सडक पूर्ण रुपमा अवरुद्ध हुन पुगेको छ ।

त्यस्तै, मुग्लिन नारायणगढ सडक शुक्रबार बिहानै देखि अवरुद्ध भए पनि शुक्रबार १० बजेअघि नै सञ्चालनमा आएको छ । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

 


सम्बन्धित समाचार