Logo

१५ कार्तिक, काठमाडौँ । बंगालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’ हाल भारतको छत्तीसगढ आसपासमा न्यूनचापीय क्षेत्रका रूपमा रहँदा त्यसको प्रभाव नेपालमा कम हुँदै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार गएरातिदेखि मोन्था चक्रवातको प्रभाव क्रमशः घट्दै गएको हो। यद्यपि हाल नेपालमा पश्चिमी वायु र अरब सागरमा बनेको अर्को न्यूनचापीय प्रणालीको आंशिक प्रभाव कायम रहेको बताइएको छ।

महाशाखाले आज बिहान जारी गरेको विवरणअनुसार कोशी प्रदेशमा पूर्ण बदली छ भने देशका अन्य अधिकांश भूभागमा सामान्यदेखि अधिकांश बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको जानकारी महाशाखाले दिएको छ।

दिउँसो कोशी, मधेश र बागमती प्रदेशमा सामान्य बदली रहनेछ भने बाँकी प्रदेशहरूमा आंशिक बदली हुने पूर्वानुमान गरिएको छ। कोशी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ।

त्यस्तै, कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा र बागमती तथा गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपात हुने पूर्वानुमान गरिएको छ।

राति कोशी र मधेश प्रदेशमा सामान्य बदली रहनेछ भने बाँकी प्रदेशहरूमा आंशिक बदली रहने महाशाखाको भनाइ छ। राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना पनि रहेको जनाइएको छ।


सम्बन्धित समाचार