१६ कार्तिक, काठमाडौँ । नेपालमा हाल पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव जारी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सो प्रणालीको प्रभावले देशका विभिन्न प्रदेशमा आंशिकदेखि पूर्ण बदलीको अवस्था कायम छ।
महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्यतया बदली छ भने बाँकी प्रदेशहरूमा आंशिक बदली देखिएको छ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्यतया बदली रहने र मधेस प्रदेशसहित बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली हुने महाशाखाले जनाएको छ। अन्य भूभागमा भने मौसम मुख्यतः सफा रहने अपेक्षा गरिएको छ।
त्यस्तै, कोशी प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षासहित हिमपात हुने सम्भावना रहेको छ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरिएको छ। रातिको समयमा पनि ती प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना महाशाखाले जनाएको छ।

















