२० कार्तिक, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी **दोहामा सम्पन्न ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’**मा सहभागी भई आज अपराह्न स्वदेश फर्किँदै छन्।
राष्ट्रपति पौडेलले गत मङ्गलबार सम्मेलनको मुख्य सत्रलाई सम्बोधन गर्दै सामाजिक न्याय, समावेशी विकास र मानव केन्द्रित नीतिहरूको आवश्यकता औंल्याएका थिए। उनले विकासका क्रममा गरिबी निवारण, रोजगारीको अवसर र सामाजिक समावेशीकरणलाई सुदृढ पार्न विश्व समुदायले आपसी सहयोग बढाउनुपर्नेमा जोड दिएका थिए।
सम्मेलनका क्रममा राष्ट्रपति पौडेलले ‘सामाजिक विकासका तीन स्तम्भको सुदृढीकरण – गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी तथा सबैका लागि मर्यादित काम र सामाजिक समावेशीकरण’ विषयक उच्चस्तरीय गोलमेच सत्रलाई पनि सम्बोधन गरेका थिए।
त्यस अवसरमा उनले नेपालले सामाजिक सुरक्षाको दायरा विस्तार, समावेशी नीतिको कार्यान्वयन र टिकाउ विकास लक्ष्य (SDGs) का अभिप्रायहरू हासिल गर्न निरन्तर प्रयासरत रहेको उल्लेख गरे।
सम्मेलनमा सहभागिता दौरान राष्ट्रपति पौडेलले कतारका अमिर, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस लगायतका उच्च पदस्थ व्यक्तिहरूसँग भेटवार्ता गरेका थिए।
कतारमा कात्तिक १८ देखि २० गतेसम्म चलेको उक्त सम्मेलन संयुक्त राष्ट्रसंघ महासभाको निर्णयअनुसार ३० वर्षपछि दोस्रोपटक आयोजना गरिएको हो। पहिलो सम्मेलन सन् १९९५ मा डेनमार्कको कोपनहेगनमा भएको थियो।
राष्ट्रपति पौडेलको टोली आज अपराह्न दोहाबाट स्वदेश फर्किने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ।
















