Logo

२१ कार्तिक, काठमाडौँ । सरकारले राहदानी (पासपोर्ट) अभावको समस्या आगामी फागुन ११ गतेपछि समाधान हुने जनाएको छ। त्यसअघि भने अत्यावश्यक कारणबाहेक नयाँ राहदानीका लागि आवेदन नदिन नागरिकलाई आग्रह गरिएको छ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार राहदानी विभाग अहिले नयाँ आपूर्तिकर्ता र हालको आपूर्तिकर्ताबीचको ‘हेन्डओभर–टेकओभर’ को संक्रमणकालीन चरणमा रहेकोले राहदानी पुस्तिका सीमित मात्रामा उपलब्ध भएको हो।

विभागले प्रदान गर्दै आएको अत्यावश्यक राहदानी सेवा भने निरन्तर सञ्चालनमा रहेको भएपनि आकस्मिक उपचार, तत्काल रोजगारी वा विदेशमा अप्ठ्यारोमा परेका व्यक्तिहरूले मात्र राहदानीका लागि आवेदन दिनुहुन क्षेत्रीले अनुरोध गरे ।

परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले विद्युतीय राहदानी (इ–पासपोर्ट) आपूर्तिका लागि नयाँ आपूर्तिकर्तासँग गत साउनमै खरिद सम्झौता गरिसकेको छ। सम्झौता अनुसार नयाँ प्रणाली र पूर्वाधार निर्माणको काम तीव्र गतिमा भइरहेको र फागुन ११ गतेदेखि नियमित सेवा सञ्चालन हुने मन्त्रालयले जनाएको छ।

गएको सोमबारदेखि विभागले दैनिक एक हजार जनाको आवेदन लिने व्यवस्था पनि मिलाएको छ। राहदानी वितरणमा आएको अस्थायी समस्या समाधानका लागि मन्त्रालय र विभाग निरन्तर समन्वयमा रहेको जनाइएको छ।


सम्बन्धित समाचार