२१ कार्तिक, काठमाडौँ । यातायात व्यवस्था विभागले आजदेखि सवारीचालक अनुमति पत्र (लाइसेन्स) छपाइ सुरु गरेको छ। काभ्रेपलाञ्चोकमा अवस्थित सुरक्षण मुद्रण केन्द्रमा शुक्रबारदेखि लाइसेन्स छाप्ने कार्य आरम्भ गरिएको विभागका कार्यकारी निर्देशक देवराज ढुंगानाले जानकारी दिए ।
विभागले पहिलो चरणमा दैनिक ५ सय वटा लाइसेन्स छाप्ने तयारी गरेको छ। ढुंगानाका अनुसार केन्द्रले करिब १२ लाख प्रति लाइसेन्स छाप्ने योजना बनाएको छ। छपाइ कार्यको औपचारिक शुभारम्भ सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले गर्ने कार्यक्रम तय गरिएको छ।
सुरक्षण मुद्रण केन्द्रका अनुसार अहिले छापिएका लाइसेन्सहरूका सबै प्रक्रिया पूरा गरी छ महिनाभित्र वितरणको तयारी भइरहेको छ।
गत जेठ ९ गते यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबीच बाँकी लाइसेन्स छाप्ने सम्बन्धी सम्झौता भएको थियो। सम्झौताअनुसार विभागले मुद्रणका लागि केन्द्रलाई करिब २७ करोड रुपैयाँ उपलब्ध गराउनेछ।
यसपटकको छपाइ खर्च पहिलेको भन्दा प्रति लाइसेन्स एक सय रुपैयाँ सस्तो पर्ने विभागले जनाएको छ। विभागका अनुसार नयाँ लाइसेन्स छपाइ सुरु भएपछि लामो समयदेखि रोकिएको वितरण प्रक्रिया क्रमशः सहज र व्यवस्थित बन्ने अपेक्षा गरिएको छ।
















