Logo

२१ कार्तिक, वीरगञ्ज । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा वीरगञ्ज भन्सार नाकाबाट निर्यातमा उल्लेखनीय वृद्धि भएको छ। वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा मात्रै रु २६ अर्ब ५९ करोड मूल्य बराबरका सामान निर्यात भएका छन्।

गत आर्थिक वर्षको सोही अवधिमा रु ८ अर्ब ८४ करोड मूल्यका वस्तु मात्र निर्यात भएका थिए। यसरी हेर्दा चालु वर्षको निर्यात अघिल्लो वर्षको तुलनामा करिब तीन गुणा बढी भएको देखिन्छ।

भन्सारका अनुसार चालु आवको पहिलो त्रैमासमा रु १३ अर्ब ९८ करोड मूल्यका छ करोड ७१ लाख तीन हजार ३०८ लिटर भटमासको प्रशोधित तेल निर्यात गरिएको छ। त्यसपछि रु २ अर्ब ७ करोड मूल्य बराबरका दुई करोड १२ लाख ४८ हजार ३८३ लिटर जुस निर्यात भएको छ।

त्यस्तै, रु १ अर्ब ७० करोड मूल्यका तीन करोड ६८ लाख ४८ हजार ३०८ लिटर सूर्यमुखीको प्रशोधित तेल, रु ९७ करोड मूल्यका दुई करोड ४९ लाख पाँच हजार १८५ थान कपडा, र रु ६६ करोड मूल्यका सेन्थेटिक यार्न समेत निर्यात भएको भन्सारले जनाएको छ।

भन्सार प्रशासक ज्ञवालीका अनुसार यो वृद्धिले नेपालको औद्योगिक उत्पादन र निर्यात क्षमता दुवैमा सुधारको सङ्केत गरेको छ। निर्यात वृद्धि हुनमा विशेषगरी तेलजन्य उत्पादन, जुस र कपडा उद्योगको योगदान उल्लेखनीय रहेको उनले बताए।


सम्बन्धित समाचार