२१ कात्र्तिक, काठमाडौं । जेन–जी आन्दोलनपश्चात् गठित अन्तरिम सरकारले आफ्नो कार्यकालको पहिलो विधेयक राष्ट्रिय सभामा दर्ता गरेको छ ।
अर्थ मन्त्रालय अन्तर्गत अर्थमन्त्री रामेश्वरप्रसाद खनालले आज ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२’ राष्ट्रिय सभा सचिवालयमा प्रस्तुत गरेका हुन् । उल्लेखनीय छ, यो विधेयक प्रतिनिधिसभा विघटन हुनुअघि पनि छलफलकै क्रममा थियो । तर, प्रतिनिधिसभा विघटन भएसँगै संसदीय प्रक्रियाबाट यो विधेयक निष्क्रिय बन्न पुगेको थियो ।
मुलुकमा निर्वाचनको तयारीसहित अन्तरिम सरकार क्रियाशील भइरहँदा सरकारले देशको वित्त परिचालनलाई व्यवस्थित गर्न आवश्यक परिमार्जनसहित उक्त विधेयकलाई पुनः राष्ट्रिय सभामा दर्ता गराएको हो । प्रतिनिधिसभा विघटन भए पनि राष्ट्रिय सभा स्थायी सदनका रूपमा क्रियाशील रहेकाले अब यो विधेयकमाथि राष्ट्रिय सभामा छलफल अगाडि बढ्नेछ ।















