Logo

२१ कात्र्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवनको सौराहामा जारी केन्द्रीय समितिको विस्तारित बैठकमा प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदनमार्फत जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते भएको विध्वंशमा राजनीतिक कार्यकर्ताहरूकै सक्रिय संलग्नता रहेको स्वीकार गरेको छ ।

पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले पेस गरेको प्रतिवेदनमा तस्बिर र भिडियोहरूबाट समेत यो तथ्य खुलेको उल्लेख छ । कार्यवाहक सभापति अर्यालले भदौ २४ गतेको घटना ‘योजनाबद्ध’ हो कि भन्ने आशंका बढाएको समेत प्रतिवेदनमा जिकिर गरेका छन् । रास्वपाले भदौ २३ र २४ दुवै दिनका घटनाको निष्पक्ष र जनविश्वासयोग्य छानबिन को माग गरेको छ ।

प्रतिवेदनमा स्पष्ट भनिएको छ, ‘२३ गते राज्यशक्तिको दुरुपयोगमा जनहत्या भएकै कारण २४ गतेका घटना भएका हुन्, तर दुवै दिनका घटनाको निष्पक्ष छानबिन गरी अपराध र संलग्नताको आधारमा दोषीलाई कारबाही गर्नुपर्छ।’

रास्वपाले निष्पक्ष छानबिनको सुरुवात भने भदौ २३ मा नरसंहार गर्नेहरूबाट हुनुपर्नेमा जोड दिएको छ। अर्यालले दोषीहरूलाई कारबाही नगरी न्याय स्थापित हुन नसक्ने र दण्डहीनताले भविष्यमा यस्ता घटना दोहोरिने सम्भावना बढाउने तर्क गरेका छन् ।

उनले दोषीलाई कारबाही गर्दा मात्र पीडितले न्याय पाउने र कानुनको शासन स्थापित हुने बताएका छन् । यसरी निष्पक्ष छानबिन गरेर मात्र राज्यले नागरिकप्रति जवाफदेही भएको सन्देश दिन सक्ने र बल प्रयोग तथा भिड नियन्त्रणका लागि नयाँ नीति र कार्यविधि बनाउन सकिने निष्कर्ष रास्वपाले निकालेको छ।


सम्बन्धित समाचार
भर्खरै